डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक फसेका छन्। उनीहरूसँग सञ्चार सम्पर्क हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार शनिबार (कात्तिक १४ गते) राति ९ बजे जिल्ला प्रशासन कार्यालय डोल्पामा पर्यटकहरू हिमपातका कारण फसेको सूचना प्राप्त भएको थियो।
फसेका पर्यटकमध्ये प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारको पहिचान खुलेको छ। उनीहरूसहित ६ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धार गर्ने निर्णय गरिएको छ। सोहीअनुसार उद्धारका लागि आवश्यक प्रक्रिया तथा सम्बन्धित निकायसँग समन्वय अघि बढाइएको प्रहरीको भनाइ छ।
प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कमा समस्या देखिएकाले फसेका सबै पर्यटकको पूर्ण विवरण प्राप्त हुन सकेको छैन। उनीहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।










