फिल्म ‘चिरञ्जीवी भवः’को दुईवटा पोस्टर सार्वजनिक भएका छन्। निर्माण टिमले शनिबार फिल्मको पहिलो झलकका रूपमा पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी देखिएका छन्। एउटा पोस्टरमा तीनै कलाकारलाई फरक-फरक भावभंगीमा प्रस्तुत गरिएको छ। हरिवंश गम्भीर मुद्रामा देखिँदा आशीर्वाद र प्रशंसा भने हँसिला देखिन्छन्।
क्याजुअल पहिरनमा रहेका आशीर्वाद कसैलाई हेरेर मुस्कुराइरहेका छन्। बुट्टेदार चोली र सारीमा सजिएकी प्रशंसाको अनुहारमा पनि हाँसो छ। उनको छड्के शिर र अनुहारमा झरेका दुई फुर्का कपालले चञ्चल स्वभावको झल्को दिन्छन्। पोस्टरको केन्द्रमा भने हरिवंश छन्।
सुकिलो अनुहार, सेतै फुलेको कपाल र जुँगा तथा नयाँ ढाका टोपीमा उनी खानदानी परिवारको घरमूलीजस्ता देखिन्छन्। पोस्टरको पृष्ठभूमिमा मन्दिर र फिल्मको शीर्षकसँगै राखिएको खामले धार्मिक आस्था र समयको संकेत गरेको देखिन्छ।
अर्को पोस्टरमा हरिवंश र आशीर्वादलाई मात्रै देखाइएको छ। यसमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ। क्याजुअल पहिरनमा रहेका आशीर्वादको अगाडि सुकिलो दौरा-सुरूवाल र ज्वारीकोटमा सजिएका हरिवंश रवाफिलो मुद्रामा देखिन्छन्। यो पोस्टरले फिल्मको शीर्षकलाई समेत अर्थपूर्ण ढंगले प्रस्तुत गरेको छ।
हरिवंशले आशीर्वाद दिइरहेको दृश्यले ‘चिरञ्जीवी भवः’ अर्थात् दीर्घायुको कामना गरिरहेको आभास हुन् । पोस्टरकै आधारमा उनीहरू बुवा-छोराको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ। फिल्म हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन्।
ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको ‘चिरञ्जीवी भवः’ आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्म अहिले पोस्ट प्रोडक्सनको चरणमा छ।
गत वर्ष निर्देशक आचार्यकै निर्देशनमा बनेको ‘परान’वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली फिल्म बनेको थियो। ‘चिरञ्जीवी भवः’मा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि निर्देशक आचार्यसँगै जोडिएका छन्। कुमारको कथामा दीपकले फिल्म निर्देशन गरेका हुन्। फिल्ममा हरिवंश, आशीर्वाद र मोडल तथा इन्फ्लुएन्सर प्रशंसासँगै अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय छ।
कुमार कट्टेलको कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले पटकथामा ढालेका हुन्। सोसल ड्रामा विधामा निर्माण भएको फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ। उमेशकुमार बराल र चिरन केसी फिल्मका निर्माता हुन् भने गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा मित्र डी. गुरूङको सम्पादन रहनेछ। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।










