तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष ट्राफिक व्यवस्थापन तथा सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा सवारीसाधन र यात्रुको चाप बढ्ने तथा धार्मिकस्थलमा भिडभाड हुने भएकाले प्रहरीले निगरानी र चेकजाँचलाई तीव्रता दिएको हो ।

चाडपर्वमा यात्रुले भोग्नुपर्ने समस्या समाधान तथा यात्रालाई सहज बनाउन उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दसैंतिहारलाई लक्षित गरी सञ्चालनमा ल्याइएका ती सहायता कक्ष छठ पर्वसम्म निरन्तर सञ्चालनमा रहने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यात्राका क्रममा देखिने समस्या समाधानमा सहजीकरण गरिनेछ ।

ट्राफिक प्रहरीले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्थालाई विशेष प्राथमिकता दिएको छ । काठमाडौंका बसपार्क, जगाती र नागढुंगामा सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउनुअघि अनिवार्य रूपमा प्राविधिक परीक्षण गरिने सुवेदीले बताए ।

सवारीसाधनको परीक्षणका लागि प्रहरी प्रधान कार्यालयबाट खटिएको प्राविधिक टोली र ट्राफिक प्रहरी संयुक्त रूपमा परिचालन भएका छन् । परीक्षणका क्रममा सवारीसाधनको यान्त्रिक अवस्था, मर्मतसम्भार तथा यात्राका लागि उपयुक्त भए–नभएको जाँच गरिनेछ । त्यस्तै, वातावरण विभागका प्राविधिक र ट्राफिक प्रहरीको संयुक्त टोलीले सार्वजनिक सवारीसाधनको प्रदूषणसमेत परीक्षण गर्नेछ ।

सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न चालक तथा सवारीसाधनमाथिको निगरानी पनि बढाइएको छ । क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने सवारीसाधन नियन्त्रण गर्न विभिन्न स्थानमा चेकजाँचको व्यवस्था मिलाइएको छ ।

लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थाको पालना भए–नभएको समेत प्रहरीले निगरानी गरिरहेको छ । चालकले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरे–नगरेको परीक्षणका साथै तीव्र गतिमा सवारी चलाउने र अत्यधिक भार बोकेका सवारीसाधनमाथि पनि निगरानी बढाइएको छ ।

यसपटकको ट्राफिक व्यवस्थापनमा मौसमको अवस्थालाई समेत ध्यान दिइएको छ । यात्राका क्रममा सवारीसाधन बिग्रिए तत्काल मर्मत गर्न तथा सडक अवरुद्ध भए शीघ्र खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण तयारी अवस्थामा राखिएको सुवेदीले जानकारी दिए ।

त्यस्तै, तिहारलगत्तै मनाइने छठ पर्वका लागि प्रहरीले छुट्टै ट्राफिक व्यवस्थापन तथा सुरक्षा योजना तयार पारेको छ । छठ पूजा आयोजना हुने स्थानको पहिचान गरी ती क्षेत्रमा ट्राफिक प्रहरीसँगै सिभिल प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

छठका अवसरमा नदी, पोखरी तथा अन्य जलाशय आसपास श्रद्धालुको भिड बढ्ने भएकाले सवारी आवागमन र पार्किङ व्यवस्थापनलाई विशेष प्राथमिकता दिइनेछ । पूजास्थल आसपास अनावश्यक भिडभाड हुन नदिन तथा सडक अवरुद्ध हुन नदिन आवश्यक जनशक्ति परिचालन गरिने प्रहरीले जनाएको छ ।

सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन बडी वर्न क्यामेरा प्रयोग गर्ने तयारीसमेत गरिएको छ । आवश्यकताअनुसार ड्रोन परिचालन गरी सम्बन्धित क्षेत्रको सुरक्षा अवस्था र गतिविधिको अनुगमन गरिने सुवेदीले बताए ।

चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनका लागि काठमाडौं उपत्यकामा रहेका एक हजार ६ सय ट्राफिक प्रहरी परिचालन गरिनेछ । ट्राफिक प्रहरीको जनशक्ति अपुग भए जनपथ प्रहरी र सिभिल प्रहरीको समेत सहयोग लिइनेछ ।

चेकजाँच तथा निगरानीलाई प्रभावकारी बनाउन विभिन्न स्थानमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । आपत्कालीन अवस्थामा घाइतेको उद्धार तथा प्राथमिक उपचारमा समेत जनपथ र सिभिल प्रहरीको सहभागिता रहने व्यवस्था मिलाइएको छ ।

चाडपर्वका समयमा सवारी चाप, यात्रुको आवागमन र धार्मिक गतिविधि एकैसाथ बढ्ने भएकाले उपलब्ध जनशक्ति र प्रविधिको समन्वयमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर