बलिउड अभिनेता शाहरूख खानको आगामी फिल्म ‘किङ’को प्रचारप्रसार सुरू भइसकेको छ।

सोमबार आफ्नो जन्मदिनको अवसर पारेर शाहरूखले फिल्मको पहिलो गीत सार्वजनिक गरेका थिए। गीतले दर्शकमाझ चर्चा पाइरहेका बेला फिल्मको बक्स अफिस व्यापारलाई लिएर पनि चासो बढ्न थालेको छ।

यसैबीच, फिल्मले प्रदर्शनअघि नै विभिन्न राइट्स बिक्रीबाट ठूलो रकम जुटाएको छ। भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार फिल्मले प्रदर्शनअघि नै ६६५ करोड भारूको कारोबार गरेको हो।

रिपोर्टअनुसार, फिल्मको विदेश वितरण अधिकार फर्स फिल्म्सले १७५ करोड भारूको न्यूनतम ग्यारेन्टीमा खरिद गरेको छ। यो कुनै भारतीय फिल्मका लागि अहिलेसम्मकै उच्च विदेशी वितरण सम्झौता भएको पिंकभिल्लाको दाबी छ।

त्यस्तै, भारतभित्रको प्रदर्शन अधिकार पेन मरूधरले २५० करोड भारूको अग्रिम रकममा लिएको छ। यससँगै फिल्मले थिएटर अधिकार बिक्रीबाट मात्रै ४२५ करोड भारू जुटाएको छ।

फिल्मको डिजिटल राइट्स नेटफ्लिक्सले १५० करोड भारूको आधार मूल्यमा लिएको छ। बक्स अफिसमा फिल्मको प्रदर्शनअनुसार यो रकम बढ्न सक्नेछ। यसबाहेक म्युजिक राइट्सबाट ६५ करोड र स्याटेलाइट राइट्सबाट २५ करोड भारू प्राप्त हुने रिपोर्टमा उल्लेख छ। यसरी विदेश तथा घरेलु वितरण, डिजिटल, म्युजिक र स्याटेलाइट राइट्स बिक्रीबाट फिल्मको कुल अग्रिम कारोबार ६६५ करोड भारू पुगेको छ।

सिद्धार्थ आनन्द निर्देशित ‘किङ’को निर्माण लागत भने करिब ४०० करोड भारू रहेको जनाइएको छ। उक्त रकममा शाहरूखको पारिश्रमिक समावेश छैन। उनको पारिश्रमिकसमेत जोड्दा फिल्मको लागत ५०० करोड भारू पुग्नेछ। त्यस्तै, प्रिन्ट र विज्ञापनलगायत प्रदर्शनसम्बन्धी खर्चमा थप ४० करोड भारू लाग्ने अनुमान छ। यसरी फिल्मको कुल खर्च करिब ५४० करोड भारू पुग्ने देखिन्छ।

बजेट ठूलो भए पनि प्रदर्शनअघि नै विभिन्न राइट्स बिक्रीबाट भएको कारोबारले फिल्मप्रति वितरक तथा लगानीकर्ताको विश्वास झल्काउने पिंकभिल्लाले उल्लेख गरेको छ। रेड चिलिज इन्टरटेन्मेन्ट र माफ्र्लिक्सले निर्माण गरेको ‘किङ’मा शाहरूखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान लगायतको अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित खवर