भारतीय फिल्म ‘रामायण’ को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ। प्रदर्शन हुनुअघि नै फिल्मले विश्वव्यापी अग्रिम टिकट बिक्रीबाट १०५ करोड भारू आम्दानी गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

रणवीर कपूर, यश र साई पल्लवीको मुख्य भूमिका रहेको फिल्म यही बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ। हिन्दुस्तान टाइम्सका अनुसार मंगलबार बिहानसम्म फिल्मले भारतमा मात्रै अग्रिम टिकट बिक्रीबाट ५८ करोड भारू संकलन गरेको छ।

यसमध्ये पहिलो दिनका लागि बिक्री भएका टिकटबाट २७ करोड भारू आम्दानी भएको छ। भारतभर करिब १५ लाख टिकट बिक्री भइसकेको जनाइएको छ। भारतबाहिर पनि फिल्मको अग्रिम बुकिङ उत्साहजनक छ। उत्तर अमेरिकासहित अन्तर्राष्ट्रिय बजारबाट मात्रै ५० लाख अमेरिकी डलर अग्रिम आम्दानी भएको समाचारमा उल्लेख छ।

अग्रिम बुकिङबाट १ सय करोड भारूभन्दा बढी आम्दानी गर्ने फिल्मको सूचीमा यसअघि ‘बाहुबली २’,’आरआरआर’, ‘पुष्पा २’ र ‘धुरन्धर २’ थिए। अब ‘रामायण’ पनि उक्त सूचीमा परेको छ। अग्रिम बुकिङको यही गति कायम रहे फिल्मले प्रदर्शनको पहिलो दिनमै ठूलो व्यापार गर्ने अपेक्षा गरिएको छ।

नितेश तिवारी निर्देशित ‘रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन्। फिल्मको पहिलो भाग नोभेम्बर ५ (कात्तिक १९)देखि विश्वव्यापी प्रदर्शन हुँदैछ। दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर