। नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् ।
बुधवार काठमाडौँमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताएकी हुन् ।
उनले नेपाल जलस्रोत, जंगल, जडीबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न मुलुक भए पनि उपलब्ध स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनुपर्ने बताइन्।
जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने उनको भनाइ छ ।
भण्डारीले जलविद्युत, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवर्द्धन र वातावरणमैत्री पर्यटन विस्तारबाट रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न तथा निर्यात प्रवर्द्धन गर्न सकिने बताइन् । यस्ता सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिइन्।
प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।
उनले भनिन्, ‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउनु राज्यको दायित्व हो । नेपाल जलस्रोत, वन, जडीबुटी, कृषि, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यी स्रोतको दिगो र वातावरणमैत्री उपयोग गर्दै जलविद्युत्, कृषि तथा खाद्य प्रशोधन, जडीबुटी, वनजन्य उद्योग र वातावरणमैत्री पर्यटनको विकासमार्फत रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिन्छ ।
यसका लागि स्वदेशी तथा विदेशी लगानी परिचालन गर्दै प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई राष्ट्रिय विकाससँग जोड्नुपर्छ । सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेको नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको रक्षा र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको छ । देश र जनताको हितमा पार्टीले गरेका काम र उपलब्धिलाई अझ सशक्त रूपमा अघि बढाउनु आवश्यक छ ।’
उनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको पनि उल्लेख गरिन्। पूर्वराष्ट्रपति भण्डारीले देशको आर्थिक रूपान्तरणका लागि प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई स्वदेशी निजी क्षेत्रसँग जोड्नुपर्ने खाँचो औँल्याइन् ।










