अग्लेश्वरी हिल्स कोषले दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड सम्पन्न गरेको छ । शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित समारोहमा संगीतका विभिन्न ४५ विधामा अवार्ड प्रदान गरियो । साथै समाजसेवी, पत्रकार र पर्यटन प्रवर्द्धकहरुलाई सम्मानसमेत गरियो ।

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, वरिष्ठ संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बास्कोटासहित अग्रज कलाकारहरुले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरे ।

‘नाइँ नभन्नु ल ६’ को गीत ‘तिम्रो आँखामा’बाट गायक प्रताप दास र फिल्म ‘बाबरी’को ‘बाबरी रंग’बाट गायिका अस्मिता अधिकारीले पब्लिक च्वाइस अवार्ड प्राप्त गरे ।

यस्तै चलचित्र संगीततर्फ ‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’ बाट दीपक शर्मा, सोही गीतबाट राजेन्द्र थापा सर्वश्रेष्ठ गीतकार र डेभिड शंकरले सर्वश्रेष्ठ पार्श्वगायकको अवार्ड हात पारे । फिल्म ‘प्रसाद २’ को ‘मार्सी धान’बाट संगीतकार राजनराज सिवाकोटीले पब्लिक च्वाइस अवार्ड प्राप्त गरे ।

आधुनिक गीततर्फ ‘दूर सागर’बाट डब्बु क्षेत्री, ‘मेरो दिलको राजा’बाट पदम रोकायाले उत्कृष्ट संगीतकार, ‘रामसाइँली’बाट नरेश बिसीले उत्कृष्ट गायकको अवार्ड पाए । गायिकातर्फको ‘आधा दुःख’बाट सुनिता कार्कीले, जुरी अवार्ड ‘जिन्दगीका गोरटो’बाट कुसुम बरालले र नवगायकको अवार्ड ‘सुनको दरबार’बाट बलाराम परियारले प्राप्त गरे ।  समारोहमा उत्कृष्ट पपगीत, लोक तथा दोहोरी गीत, देउडा गीत, गजल, म्युजिक भिडियो, निर्देशक, मोडल, भिडियो सम्पादक, रेकर्डिस्ट, राष्ट्रिय गीत, पर्यटन प्रवर्द्धन गीत, बालगीत, बाल कलाकार विधामा समेत अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर