नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता बन्द गरिने भएको छ। सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ। आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए।

उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ। सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो। विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उनले जानकारी दिए।

उनले भने, ‘अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई-तीन घण्टा राम्रो गरी काम भएको छ।’ यथाशीघ्र छिटो काम सक्न भनिएको उनले बताए। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ। त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो। गत साल २५ मिटर तल झारिएको थियो। बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर