दूरसञ्चार प्रदायक एनसेलले प्रयोगकर्ताहरुलाई बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषणसहित १३ वटा प्रकोपबारे पूर्व सूचना दिन भएको हो ।
जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले सन् २०१६ देखि बाढीको पूर्व सूचना दिने गरेको छ । २०२३ मा मात्र एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।
त्यसलाई थप विस्तार गर्ने समझदारी पत्रमा बुधबार एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले हस्ताक्षर गरेका छन् ।
प्राकृतिक विपदबारे अगावै प्राप्त हुने पूर्व सूचना जीवनदान हुने भन्दै विभागका महानिर्देशक डा. कर्माचार्य बताउँछन् ।
एनसेल र अन्य साझेदारसँग गरेको सहकार्यबाट जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज भएको र हजारौं मानिसको जीवन रक्षा गर्न सफल भएका उनले सुनाए । उनले अघि भने, ‘मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहका लागि गरिएको योे सहकार्य एक अर्को कोशेढुंगा हो ।’
एनसेलका प्रमुख कार्यकारी अधिकृत कायुमोभले पनि प्राकृतिक विपदबारे पूर्व सूचना दिन जल तथा मौसम विज्ञान विभाग गरिएको सहकार्य नेपाली जनमानसलाई सम्भावित विपद्बाट जोगाउने प्रयास भएको बताए ।