रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएसँगै मृत्यु हुने नेपालीहरुको संख्या १० पुगेको छ। प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको परिवारले परराष्ट्र मन्त्रालयमा जानकारी दिएका छन्।

सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको जनाइएको छ। दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएको खुलेको छ।

यसअघि युक्रेनसँग युद्धरत मुलुक रूसको सेनामा कार्यरत ९ जना नेपालीको मृत्यु भएको थियो। यसअघि मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह, गोर्खाका सन्दीप थपलिया, वाणगंगा– १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, पुतलीबजार स्याङ्जाका पितम कार्की, मेलुङ गोरखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन्।  नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।

परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। उनलाई  नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ।

सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)लिएर मात्र यात्रा गर्नु हुन सर्सावधारण सबैमा मन्त्रालय हार्दिक अपिल गर्दछ,’ परराष्ट्रले भनेको छ, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुनः हार्दिक अनुरोध गर्दछ।’

परराष्ट्रले गत साउन १६ गते विज्ञप्तिमार्फत विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा भारत र बेलायतबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जानकारी गराएको थियो।

यसअघि परराष्ट्रमन्त्री एनपी साउदले करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका थिए। तीमध्ये १० जनाको मृत्यु भएको, १०० जना हराइरहेको र घाइते भएको भनी परिवार र आफन्तबाट उजुरी आएको उनले जानकारी दिएका छन्। रुसमा रहेका नेपालीहरुको अवस्थाबारे बुझ्‍न परराष्ट्रमन्त्री साउदले रुस जाने तयारी थालेका हुन्।

मन्त्री साउद यही माघको पहिलो साता रुस जानेगरि तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ। सरकारले यसअघि नेपालीहरुलाई रुसी सेनामा भर्ना नगर्न भन्दै रुसलाई कूटनीतिक नोटसमेत पठाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर