गायन रियालिटी शो भ्वाइस किड्स नेपालको तेस्रो सिजन घोषणा भएको छ । भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनालेको क्रममा ‘किड्स’को नयाँ सिजन ल्याउने जानकारी दिइयो ।
युवापुस्तामा रुचाइएका पपगायक छेवाङ शेर्पालाई कोचको रुपमा चिनाउँदै नयाँ सिजनको घोषणा गरिएको हो । प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् ।
फिनाले मञ्चमा छेवाङले गीतको छोटो टुक्रा सुनाए । धेरैले उनलाई सांगीतिक प्रस्तुतिका लागि आएको हुनसक्ने अड्कल काटेका थिए । तर छेवाङले भ्वाइस किड्स ३ को घोषणा गरे । ‘नानीबाबुलाई सिकाउने र मैले पनि सिक्ने अवसरको रुपमा मैले लिनेछु,’ छेवाङले उक्त अवसरमा भने ।
किड्सको डिजिटल अडिसन आह्वान गरिएको छ । ६ देखि १४ वर्ष उमेर समूहका इच्छुक बालबालिकाले हिमालय टिभी एचडीको एपबाट आवेदन दिन सक्ने भएका छन् । भिडियोसहित आवेदन दिनुपर्ने भएको छ ।