टेलिभिजन सिरिजका चर्चित अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई यतिबेला भ्याइनभ्याइ छ । एकातिर उनी ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरिजको लेखन, निर्देशनमा व्यस्त छन् भने अर्कोतिर विदेशका कार्यक्रममा भाग लिने चटारो ।
यसैसाता बल्छी धुर्बेले कतारमा आयोजित कार्यक्रममा दर्शक तताए । ‘हल्का रमाइलो’ फेम्ड कलाकार पुजन घिमिरे ‘टुकु’ र गायिका सदीक्षा कटट्लसहित उनले दोहामा आयोजित कार्यक्रममा मनोरञ्जन दिए ।
अर्मानी लाउण्जले दोहामा गरेको कार्यक्रममा बल्छी धुर्बे आकर्षणका केन्द्र थिए । उनी आफ्नो परिचित बल्छी धुर्बेको पोशाकमा मञ्चमा प्रस्तुत हुँदा उनले व्यापक हुटिङ पाए भने दर्शकको माया । ‘हामीलाई माया गर्ने मान्छे कतारमा प्रशस्तै पाएँ,’ उनले भने ।
बल्छी धुर्बेका लागि विदेश दौडाहाको तालिका अझै लम्बिने निश्चित छ । माघ २१ गते उनी अष्ट्रेलिया उड्दैछन् । अष्ट्रेलियाको एक महिने बसाइमा उनले कार्यक्रममा प्रस्तुति दिने त भइहाल्यो, यसबाहेक ‘हल्का रमाइलो’ र अर्को एक नयाँ सिरिज पनि छायांकन गर्ने उनको तयारी छ ।