साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ अंकले घटेको छ । यस दिन बजारमा उच्च उतारचढाव देखियो । बिहान ११ : १४ बजे बजारको परिसूचक नेप्से २१३३ विन्दुसम्म झरेको थियो । उतारचढावका बीच दिउँसो २ : ३४ बजे २१६७ विन्दुसम्म पुगेको बजार अन्ततः बन्द हुँदा २१५५ विन्दुमा कायम भयो, जुन अघिल्लो दिनको तुलनामा ७.२४ अंक कमी हो ।
परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो । यस दिन हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढे । होटल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र ब्यापार समूह ०.८९ प्रतिशत घटे ।