हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसै अवधिमा भन्दा ५७.५३ प्रतिशतले धेरै हो । गत वर्ष सोशी अवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि १ अर्ब ३८ करोडबाट बढेर २ अर्ब २१ करोड पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यस बैंकको खुद नाफा बढेको हो । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४९ करोडबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६ पैसाले बढेर १३.८९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६२.१७ रुपैयाँ छ ।
बैंकको खराब कर्जा दर ३.७७ प्रतिशत विन्दुबाट बढेर ४.९५ प्रतिशतमा पुगेको छ । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।