डीपफेक प्रविधि पछिल्लो समय बलिउडमा ठूलै चिन्ताको विषय बनिरहेको छ । भारतीय सेलिब्रेटी पछिल्लो समय यो प्रविधिको सिकार बनिरहेको देखिन्छन् ।

आलिया भट्ट, काजोल, कट्रिना कैफ, रश्मिका मन्दाना र अन्य स्टारले पनि डीपफेक प्रविधिको दुरुपयोगको सामना गरेका छन् । यसले धेरै नेटिजन्सलाई आक्रोशित तुल्याएको पनि छ ।

पछिल्लो समय बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही डीपफेकको सिकार भएकी छन् । यस भिडियोमा नोराजस्तै देखिने एक महिला सिजन सेलको अन्त्यको प्रचार गरिरहेकी छिन् । यो भिडियोलाई नोराले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

यो तस्वीर र भिडियो आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै नोराले लेखेकी छिन्, ‘सक्ड, यो म होइन ।’ अभिनेत्रीले यसलाई फेक भनेकी छन् । यो भिडियोमा एक महिलाले ठ्याक्कै नोरा जस्तै आवाजमा बोल्दै फेसन ब्रान्डको बिक्रीको प्रचार गरिरहेकी छिन् । ती महिला नोरा जस्तै देखिन्छिन् ।

उक्त फेसन ब्राण्डको सोसल मिडिया अकाउन्टमा नोराका धेरै तस्वीर र भिडियो पनि अपलोड भएका छन् । यद्यपि, न त नोरालाई तीमध्ये कुनैमा ट्याग गरिएको छ न त नोराले त्यो कम्पनीसँग सहकार्य गरेकी छन् । यस्तो अवस्थामा यस अकाउन्टबाट अनलाइन कपडा बेच्ने नाममा ठगी भइरहेको प्रष्ट हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर