आईसीसी यू–१९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्यूजिल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ। न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ।
८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिदैछ। यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो।
नेपाल सन् २०१६ पछि विश्वकप खेल्न लागेको हो। सन् २०१६ को विश्वकपमा नेपालले क्वार्टरफाइनल सम्मको यात्रा तय गरे पनि अन्तिम ८ को खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।
यो विश्वकपमा भने नेपाल समूह ‘डी’मा छ। यो समूहमा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्। हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।
विश्वकप अगाडि नेपालले ४ वटा अभ्यास खेल खेलेको थियो। नेपालले स्कटल्याण्ड र नामिबियालाई हराएको थियो भने वेस्ट इन्डिजसँगको खेल वर्षाका कारण रद्द भएको थियो।