इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेललाई पछिल्लो समय भाग्यले साथ दिइरहेको छ । यो गायन रियालिटी शोमा उनी उत्कृष्ट १० मा छनोट भइसकेकी छिन् ।
यतिबेला भने मेनुकालाई लिएर खुसीको खबर छ । अब उनले एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने भएकी छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले यी काम गर्न सक्नेछिन् ।
मेनुकालाई यो उपचारमा इण्डियन आइडलले सघाउने भएको छ । यसैसाता आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो । चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने तर विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने ती चिकित्सकले बताए ।
ती डाक्टरले भनेका छन्, ‘आँखामा अप्टिक नर्भ्स हुन्छ । मेनुकाको त्यो नर्भ्सले काम गरेको छैन । उनले पूर्णरुपमा देख्न सक्ने सम्भावना छैन । यो परिस्थितिमा हामीसँग यस्तो डिभाइस छ, जसले केही कामहरु आफैं गर्न सक्नेछिन् ।’










