
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि पुनरावलोकन गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य समेत रहेकी श्रेष्ठले मंगलबार प्रधानमन्त्रीलाई सिंहदरबारमा भेट्दै पाँचबुँदे पत्र पनि बुझाएकी छन् ।
जसमा पुस २३ गते उपकुलपतिमा दाबी पेश गर्न सरकारी कार्यदलले गरेको आह्वान अस्पष्ट, अपूर्ण र समस्याग्रस्त रहेको जिकिर गरिएको छ । आफू कार्यविधिमा खोट देखाउनमात्रै उपस्थित नभएको भन्दै उनले समाधानका उपाय पनि सुझाएकी छन् ।
श्रेष्ठले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आवेदन दिएका उम्मेदवारमा उत्तरपुस्तिका नष्ट भएका आरोपित व्यक्तिदेखि बौद्धिक चोरीको आरोप लागेका व्यक्तिसमेत छन्, कार्यविधिमा कमजोरी रहेकैले उनीहरुले फेरि आवेदन दिन सके ।’
प्रधानमन्त्रीले त्रिविको उनान्पचासौं दीक्षान्त समारोहमा व्यक्त गरेको राजनीतिक भागबन्डा अन्त्यको आश्वासन विपरीत दरखास्त आह्वान भएको र त्यसै अनुसारका कतिपय नाम पर्न गएकाले शंकास्पद, त्रुटिपूर्ण काम भएको भन्दै सांसद श्रेष्ठले असन्तोष जनाएकी छन् ।