राष्ट्रियसभामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सांसद दिलकुमारी रावल थापा प्रस्तावक रहेको प्रस्तावको समर्थकमा सांसदहरू काङ्ग्रेसकी अनिता देवकोटा, नेकपा एमालेका भैरवसुन्दर श्रेष्ठ, माओवादी केन्द्रका गोपी बहादुर सार्की , एकीकृत समाजवादीका मदनकुमारी शाह , जनता समाजवादीका मोहम्मद खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, स्वतन्त्र सांसद खिमलाल देवकोटा र मनोनीत सांसद विमला राई पौडेल रहेका छन् ।

प्रस्तावकले प्रस्ताव पेश गर्नुपर्ने कारणहरूमा १० औँ पटक संशोधन भएर पनि समस्यालाई सम्बोधन गर्न नसकेको प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पुनरावलोकन गरी सडक सुरक्षा र सवारी साधन सञ्चालन, यातायात सूचनासम्बन्धी प्रभावकारी व्यवस्थासहितको सङ्घीय संरचना अनुरूपको वर्तमान समस्या र चुनौती सम्बोधन गर्ने विधेयक तत्काल संसद्मा पेश गर्न माग गरेका छन् ।

सवारी चालक अनुमति पत्र प्राप्ति अघि अनिवार्य रूपमा सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी उपलब्ध गराउनुका साथै चालक र सहचालकलाई आवधिक रूपमा सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्न, सडक सुरक्षा सावधानीसहित सडक निर्माणसम्बन्धी स्पष्ट मापदण्ड तय गरी तहगत रूपमा तीनै तहका निकायबाट निर्माण गरिने सडकको न्यूनतम मापदण्डमा एकरूपता कायम गर्न भनिएको छ ।

सडक दुर्घटनामा परी घाइते भएका नागरिकको उपचारको विषयलाई स्वास्थ्य बिमाको अङ्गका रूपमा व्यवस्था मिलाउन र दुर्घटनामा परी अपाङ्गता भएका नागरिकको जीवन निर्वाहका लागि रोजगारीमा प्राथमिकता तथा आर्थिक वृत्तिको प्रबन्ध गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर