नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत हुने सङ्घीयता कार्यान्वयन सम्बन्धी विधेयकमाथिको छलफलमा सक्रियताका साथ सहभागी हुन निर्देशन दिएका छन ।
माओवादी केन्द्रको हिजो र आज दुई दिनसम्म बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले सरकारले प्राथमिकताकासाथ संसद्ममा प्रस्तुत गर्ने सङ्घीयता कार्यान्वयन सम्बन्धी विधेयकहरूसाथ सक्रिय सहभागी हुन निर्देशन दिए ।
प्रतिनिधिसभाका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको बैठकमा दलका राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र सामाजिक न्यायका विषयवस्तुलाई अघि बढाउन संसद् र संसदीय समितिमा सक्रिय ढङ्गबाट प्रस्तुत हुन निर्देशन भएको जानकारी दिए ।
दलको बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्राथमिकता र सिद्धान्त सरकारले प्रस्तुत गर्नु अघि सांसदहरुसँग छलफल अन्तरक्रिया गर्ने र संसद्का मैत्री समूहमा सांसदहरू पठाउने निर्णय गरेको छ ।
यसैगरी बैठकले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्न माओवादी केन्द्रका तर्फबाट विजयी संसदहरुलाई बधाई ज्ञापन गरेको थियो ।










