टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो ।
टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।
आइतबार फेरि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले पत्र लेखेको छ ।
पत्रमा टिकटकले नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । ‘टिकटक नेपालमा व्यापार निरन्तरताका लागि ५ प्रमुख क्षेत्रहरूमा थप काम गर्ने प्रतिबद्धता जनाउन चाहान्छ,’ पत्रमा भनिएको छ ।










