चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौँडामा सुरु भएको छ । संघको आयोजनामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले समन्वय तथा व्यवस्थापन गरेको छ ।  फागुन ८ गतेसम्म चल्ने भेलामा ११ सेसनमा विभिन्न कार्यक्रम हुनेछन् । भेलामा सिनेमा र पर्यटनका विभिन्न विषयमा ११ सेसनमा संवाद हुने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए ।

स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा संघले हेटौँडाको पल्पसा प्याराडाइज होममा कार्यक्रमको आयोजना गरेको हो । सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरू गरिने उनको भनाई छ ।

भेलामा चलचित्र पत्रकारितामा क्रियाशील १०० बढी पत्रकार, चलचित्र निर्माता, निर्देशक, चलचित्रकर्मीहरूको उपस्थिति रहेको छ । स्थानीय ठाउँहरूलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताए ।

कार्यक्रममा नेपाली चलचित्र उद्योगको कार्यपत्र र  चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुने चलचित्र पत्रकार संघ मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले बताए । फागुन ६ गते भेलाको औपचारिक उद्घाटनपछि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल हुनेछ ।  प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा विट पत्रकारिता र हेटौँडाका पत्रकारका लागि पत्रकार आचारसंहितामाथि छलफल गरिने अध्यक्ष खड्काले बताए । उनका अनुसार विज्ञापन बोर्डले अनलाइन व्यवस्थापक सम्बन्धी कार्यशाला आयोजना गर्नेछ भने फागुन ७ गते सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोसन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि विषयहरूमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर