प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए । ‘परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ,’ प्रधानमन्त्रीले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ । युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ । नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ ।’
सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए ।
प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफैं चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहने उनले उल्लेख गरे ।










