विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले जलविद्युत् आयोजनाको लाइसेन्सको अवधि ५० वर्ष पुर्याउन पहल गर्ने आश्वासन दिएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिसँगको भेटमा महानिर्देशक मण्डलले यस्तो आश्वासन दिएको इप्पानले बताएको छ ।
२०६३ सालसम्म १५० रुपैयाँमा जलविद्युत् आयोजनाको लाइसेन्स दिएको स्मरण गर्दै मण्डलले लाइसेन्सका व्यवस्था नियमित संसोधन गर्न सकिने व्यवस्था भएको बताए ।
उनले विदेशी लगानीमा बुट मोडलमा आयोजना बनाउने कुरा आएपछि लाइसेन्सको अवधि ३५ वर्ष बनाइएको स्मरण गर्दै ऐनमा भएको व्यवस्थाले यसलाई ५० वर्षसम्म कायम गर्ने कुरामा आफूले पहल गर्ने बताएका हुन् ।










