पाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ भने डिफेण्डिङ च्याम्पियन समेत हो ।

अर्कोतर्फ यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३औं स्थानमा छ । नेपाल भने १०५ औं स्थानमा छ ।

सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुआती दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि समेत जितेको थियो ।

जोर्डनले २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप समेत खेलेको थियो । यस्तै तीनपटक एसियन गेम्स खेलेको छ ।

नेपालले भने अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली खेलकुद हो । असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा नेपालले विश्वकप खेलिसकेको जापान र भियतनाम जस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो ।

नेपालले एएफसी वुमन्स कप भने खेलेको छैन ।

जोर्डनलाई पराजित गर्दै नेपाल पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर