
अहिले विश्वमै जटिल समस्याको रुपमा देखिदैछ, डिप्रेसन । यो मानसिक विकारले धेरैलाई मनोरोगी बनाएको छ । दुःखलाग्दो त के छ भने, यस्तो समस्या प्रौड, वयस्क वा युवाहरुमा मात्र होइन, बालबच्चामा समेत देखिएको छ ।
बच्चाहरुमा देखिने डिप्रेसनमा बच्चाहरु जतिवेला पनि रिसाउने, बेलाबेलामा झनक झनक झर्किने हुन्छन। पहिला गरिरहेका , आनन्द मानेका कामहरुमा मन नलाग्ने जस्तै परिवारसंग घुलमिल हुन , स्कुल जान वा पढन लेख्न , साथीभाईसंग घुम्न वा कुरा गर्न वा आफुले खेल्ने खेलमा पहिलेको जस्तो मन नहुने।
सानो सानो काम गर्दा पनि थकान महशुस हुने , चाडै थाक्ने, स्कुलबाट आउने बित्तिकै वा कतैबाट आएपश्चात , बिस्तारामा पल्टिन खोज्ने या सुतिहाल्ने। स्कुलमा पढाईमा ध्यान नहुने , साथी वा कोहि कुरा गर्दा पनि ध्यान नदिने , स्कुलमा पहिले पहिले आउने परीक्षाको नतिजामा कमि हुदै जानु।
निन्द्रा नलाग्ने , छटपट गर्ने वा धेरै निन्द्रा हुने। तौल घटदै जानु ,खानै मन नगर्नु वा उमेर अनुसारको तौल हासिल गर्न नसक्नु पेट दुख्यो, टाउको दुख्यो ,अर्कै भयो जस्ता विभिन्न लक्षणहरु व्यक्त गर्नु वा यस्तै लक्षणका कारण बेलाबेलामा स्कूल नजानु, स्कुल जानै मन नगर्नु।
मलाई कसैले माया गर्दैन, म एक्लै छु , कोहि बोल्न खोज्दैन, मेरो साथी हरु नै छैन , म पढनै सक्दैन ,मैले केहि गर्न सक्दैन , मेरै कारण ले गर्दा बुवाआमालाई दुख दिइरहको छु , मेरै कारणले गर्दा नै सबै नराम्रो भइरहेको हुन्छ जस्ता शव्दहरु प्रयोग गरेर अभिव्यक्ति दिनु।
कोही नभएको बेला औषधिहरु खाईदिने हात वा शरीरमा काटन खोज्ने वा हानी गर्न खोज्ने वा बिगत मा पनि यस्तै प्रयास गर्ने । सानो उमेरमै कुटपिट, गलतकामहरु वा मादक पदार्थ वा लागुपदार्थको प्रयोग गर्नु।
कस्ता बालबालिका जोखिममा रहन्छन त?
परिवारका सदस्यहरुमा मानसिक समस्या रहेको, आत्महत्या वा सोको प्रयास गरेको। बच्चामा हुँदा शारीरिक वा मानसिक शोषणबाट गुज्रिरहेको
पारिवारिक सम्बन्धहरुमा समस्या , पारिवारिक कलह, झै झगड़ा वा परिवारका सदस्य लागुऔषध या कुलतमा रहनु। बालबालिकालाई स्याहार, समय नदिनु वा विभिन्न कारणले बच्चालाई मतलव नै नगर्ने वा गाली गर्ने , कुट्ने पिटने गर्न वा उनीहरुको भावना नबुझनु वा राम्रो सामाजिक समर्थन नहुनु।
सानो सानो कुरामा रिसाउने , ज़िद्दीपना र रिसका कारण वा कुनै कारणले जोखिमयुक्त कार्यहरु गर्ने बालबालिका डिप्रेसन वा आत्महत्याको सोच बालबालिकाहरुमा पनि हुने गर्दछ, उनीहरुको सोच, बिचार र व्यवहारलाई मतलब नगर्दा वा समयमै पहिचान गर्न नसक्दा विश्वमै र नेपालमा पनि बेला बेलामा बालबालिका वा किशोर किशोरीहरुको आत्महत्याको घटनाले तरंगित बनाइरहेको हुन्छ।
आफ्ना भावनाहरु व्यक्त गर्न नसक्नु , परिवारका सदस्यहरुसँग डर मान्नु वा परिवार वा स्कूलको वातावरण कठोर लाग्नु , बेलैमा समस्याको पहिचान हुन नसक्नु , मानसिक स्वास्थ्यलाई आफ्नो कमजोरी वा लान्छानाका रुपमा हेरिँदा , परिवार , स्कूलमा वा समाजमा मानसिक स्वास्थका बारेमा हेरिने दृष्टिकोण हरुले डिप्रेसन वा आत्महत्या सम्बन्धी सोचहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छन।
बच्चाहरु धेरै जसो समय स्कुलमा हुने हुँदा शिक्षक शिक्षिकाहरुले माथि उल्लेखित लक्षण वा असामान्य व्यवहार देखेको खण्डमा चिकित्सक, मनोचिकित्सक, मनोविदहरुसँग परामर्श लिनुपर्दछ ।