अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली फिल्ममा योगदान पुर्याउने सात महिला फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गरिन् ।
अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राणा, प्राविधिक ऋतु राना, एक्सन-कोरियोग्राफर किरण दाहाल र कला पत्रकार शारदा थापालाई सम्मान गरिएको हो । सम्मानसहित नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएलगत्तै महिला फिल्मकर्मीलाई सम्मान गर्न मन्त्री शर्मा बोर्डको चावहिलस्थित कार्यालयमा पुगेकी थिइन् । उनले फिल्मकर्ममा निरन्तर क्रियाशील महिलालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् ।
कुनै समय अभिनय गर्न घरबाट निस्कन कठिन हुने महिला अहिले फिल्मका विभिन्न विधामा सक्रिय हुनु गौरवको कुरा रहेको मन्त्री शर्माको भनाइ थियो । ‘अहिले छलफलमा रहेको चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति लगायतका निकायमा बलियो उपस्थिति गराउने छ । त्यसले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ,’ उनले भनिन् ।
निर्माण तयारीमा रहेको ऐनले ती संस्थामा महिलाको सहभागिता अनिवार्य गराउने मन्त्री शर्माको भनाइ थियो । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फिल्मकर्मीलाई प्रोत्साहन गर्न अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने आशा पनि उनले व्यक्त गरिन् ।










