वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो ।

व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो ।

नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन थालेका छन् भने केही व्यापारीहरु प्रतिकारमा उत्रिएका छन् । सुरुमा शान्त रहेका व्यापारीहरु डोजरले संरचना भत्काउन थालेपछि एक्कासी ढुङ्गा मुढामा उत्रिएका थिए ।

ढुङ्गामुढापछि एकछिन भागदौड नै मच्चिएको थियो भने झडपको स्थिति नै आएको थियो ।

स्थानीयबासिन्दाको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने सो क्रममा एक कर्मचारी समेत घाइते भएका छन् । त्यसपछि नगरपालिकाको डोजर पछि हटेको छ ।

झडपमा स्थानीयबासिन्दाले नगरपालिकाका कर्मचारी र डोजरमाथि आक्रमण गरे पनि प्रहरी भने त्यो सबै घटना हेरेर बसिरहेको थियो । माथिबाट आदेश नआएको आफूहरु एक्सनमा नगएको एक जना प्रहरी जवानले बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी लक्ष्मणबहादुर शाहीले प्रशासनले निर्देशन नदिँदा एक्सन लिन नसकेको बताए । ‘जिल्लाको सुरक्षा संयन्त्र प्रमुख सिडिओ साब हँुनुहुन्छ । प्रशासनले निर्देशन नदिएसम्म हामी एक्सनमा जान मिल्दैन्,’  डीएसपी शाहीले भने,

माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए ।

नगरपालिकाले पटक–पटक संरचना हटाउन आग्रह गरे पनि अटेर गरिरहेकाले आज नगर आफैँले भत्काइदिने गरी एक्सनमा उत्रिएको हो ।

नगरले डोजर चलाएपछि उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन् । ५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाई व्यवसाय गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर