पाकिस्तानमा २० वर्षपछि तीन राष्ट्र सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आयोजना हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार, त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गर्न लागेका हुन् ।पीसीबीका अनुसार, हालै दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले पनि उक्त शृंखलालाई अगाडि बढाउने संकेत दिएको छ । सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि लाहोरमा आतंककारी हमला भएको थियो ।
त्यो आतंककारी हमलापछि लामो समयसम्म कुनै पनि टोलीले पाकिस्तानको भ्रमण गरेका थिएनन् । त्यसपछि सन् २०२० मा आएर मात्र फेरि पाकिस्तानी भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो । तर, त्यसपछि पनि त्रिकोणात्मक एकदिवसीय शृंखला भने खेलिएको थिएन ।
पछिल्लो पटक सन् २००४ मा पाकिस्तानमा त्रिकोणात्मक शृंखला खेलिएको थियो । त्यतिबेला त्रिकोणात्मक शृंखलामा श्रीलंका र जिम्बाबे सहभागी थिए । पाकिस्तानमै आयोजना हुने भनिएको आईसीसी च्याम्पियन्स ट्रफीअघि देशभित्र अन्तर्राष्ट्रिय क्रिकेटको वातावरण बनाउने उद्देश्यले त्रिकोणात्मक शृंखला खेलाउन लागिएको पीसीबीका अध्यक्ष मोहसिन नकवीले जनाएका छन् ।










