कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताएका छन्।
महाशिला गाउँपालिकामा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सो विधेयक छिट्टै टुङ्गो लगाइने बताए। उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत जानकारी दिए।
मन्त्री गिरीले भने, ‘विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरूको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरूमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ।’
कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुन बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे। उनले बदलिँदो परिवेश अनुसार कानुन बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको बताए।
सदनमा पेस भएका कतिपय विधेयक राजनीतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए। मन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए। उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने धारणा राखे।
मन्त्री गिरी आइतबारदेखि दक्षिण पर्वतको पैँयू, विहादी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा भेटघाट तथा जनसंवादमा सरिक भएका छन्।










