कामचलाउ लुम्बिनी प्रदेश सरकारले कर्मचारीहरुको सरुवा गरेको छ । सरुवा हुनेमा कार्यालय प्रमुखदेखि नायब सुब्बासम्म छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चैत २ गते नै कर्मचारीहरुको सरुवा गरे पनि सार्वजनिक भने गरेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता निराजन घिमिरेले कर्मचारीहरुको सरुवा नभएको जिकीर गरे ।
दाङस्थित यातायात कार्यालयका तत्कालीन प्रमुख रहेका एकजना कर्मचारीको ‘कम्प्लेन आएकाले’ मन्त्रालयमा सरुवा गरिएको भन्दै उनले भने, ‘कर्मचारी सरुवाको क्यालेण्डर छ, साउनमा गर्ने । त्योबाहेक सरुवा हुँदैन । अहिले कसैको सरुवा भएको पनि छैन र तत्काल हुँदैन पनि ।’
तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी प्रशासन शाखाका अधिकृत (सातौं) श्यामलाल न्यौपानेले अरू कर्मचारी सरुवा भएको स्वीकार गरेका छन् । उनले सुरुमा ‘केही कार्यालय प्रमुखहरुको मात्र’ सरुवा गरेको बताए । सात जनाको सरुवा भएको बताए । ‘चैत २ गतेको मितिमा पाँच जना कार्यालय प्रमुख र दुई जना सुब्बा गरी जम्मा ७ जनाको सरुवा भएको ,’ न्यौपानेले स्वीकार गरे ।










