तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाटजडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइसचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक ब्रु’ भएको हो ।

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार ४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिनेछ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने प्राधिकरणले जनाएको छ ।

सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित कार्यक्रममा सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको भन्दै मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे । कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोसी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ । आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,  उनले भने ।

सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

‘मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरी आयोजनाका मुख्य माइलस्टोन पूरा भएका छन् । निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणको कामलाई तीव्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेवार भएर लाग्नु पर्छ,’ उनले भने ।

आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाब र मादी नदीको पानी प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिएको १ सय २६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण छिट्टै अगाडि बढाइने उनले बताए ।

आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्या लगायत विषयमा जानकारी गराए ।

मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । समग्र निर्माण २०८३ असार (सन् २०२६ मे) भित्र सक्ने लक्ष्य छ ।

प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण कार्य धमाधम भइरहेको छ ।

आगामी असार दोस्रो साताभित्र जग खन्ने काम सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण सुरु गर्ने लक्ष्यसाथ काम भइरहेको छ । प्याकेज–१ को समग्र भौतिक प्रगति २९ प्रतिशत छ ।

प्याकेज–१ अन्तर्गत १ सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत प्याकेज–२ निर्माण सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ ।

भूमिगत विद्युत्गृह खन्ने काम सम्पन्न गरी कंक्रिटिङ स्विजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरण जडान लगायत काम भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवन भरतपुरसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका केईसी इन्टरनेसनल लिमिटेड भारतले गरिरहेको छ ।

३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७६ टावरको जग हालिएको छ भने ६२ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँमा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर