बलिउड फिल्म निर्माता करण जोहरले १२ वर्षअघिको फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रालाई लन्च गरे । यो फिल्म व्यावसायिक हिट भएपछि दोस्रो शृंखला पनि आयो ।
यतिबेला भने तेस्रो श्रृंखलालाई लिएर जोहरले ठूलो अपडेट दिएका छन् । उनले यस पटक फिल्म नभई तेस्रो श्रृंखलाको रुपमा वेब सिरिज बन्ने र रीमा मायाले निर्देशन गर्ने बताए । पुनित मलहोत्रा निर्देशनबाट बाहिरिएका छन् ।
चण्डीगढमा आयोजित सिनेभेस्चर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनले ‘स्टुडेन्ट अफ द इयर ३’ बारे कुरा गरे । निर्देशक रीमालाई सामाजिक कथावस्तुमा बनेको छोटो फिल्म ‘नकटर्नल बर्गर’बाट चिनिन्छ ।
नयाँ निर्देशक र लेखकसँग मिलेर काम गर्न आफू इच्छुक रहेको भन्दै करणले रीमाले उक्त फिल्मको डिजिटल संस्करण निर्देशन गर्ने बताए । उनले भने, ‘तर यो उनीहरूको शैली हुनेछ । मेरो होइन । यदि म रीमा मायाको संसारमा प्रवेश गरें भने मैले यसलाई थप भ्रमित पार्नेछु । म चाहन्छु कि यो उनको आवाज बनोस् । उनले यसलाई आफ्नै सिरिज बनाउनेछिन् ।’










