
अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ।
सुपादेउरालीबाट पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका वडा नं. ८ कोलडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका वडा नं. ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको जानकारी दिए।
रावलका अनुसार दुर्घटनामा परि ७ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा कार चालक भूमिकास्थान वडा नं. ८ का ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा-१२ की ३० वर्षीया सविता अधिकारी, १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत छन्।
प्रहरी निरीक्षक रावलले दुर्घटनामा घाइते भएका चार जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको र तीन जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको बताए।