गण्डकीमा मुख्यमन्त्रीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् ।
बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए । यसपटक सत्ता संकटमा पर्ने देखिएपछि फेरि ९ मन्त्रालय बनाउने निर्णय गराएका हुन् ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएकाे चुमानले जानकारी दिए ।
याेसँगै मन्त्रिपरिषद्काे बैठकले गण्डकीकाे मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेकाे छ । हालैकाे एमाले लमजुङकाे अध्यक्षमा हार व्यहाेरेका खगराज गुटका कृष्ण अधिकारीलाई न्यायाधिवक्ता बनाउने निर्णय गरिएकाे छ ।
गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वाेच्चले दीर्घकालीन महत्वकाे निर्णय नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । मुख्यमन्त्री अधिकारीले मंगलबारकाे बैठकबाट निर्णय गरेकाे चुमानले जानकारी दिए ।










