एसियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले आज ‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै २०२४ मा ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।
आगामी वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशतको हुने प्रक्षेपण छ । यो प्रक्षेपणले नेपालको अर्थतन्त्रमा सुधार आउने देखाएको छ । गत वर्ष सन् २०२३ मा एडीबीले नेपालको अर्थतन्त्र १.९ प्रतिशतले बढ्ने अनुमान गरेको थियो ।
एडीबीका अनुसार गत वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा व्यापक सुधार आउने छ । गत वर्ष जम्मा १.९ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण रहेकामा यो वर्ष ३.६ प्रतिशतको प्रक्षेपण भएको छ । यो वर्ष नेपालले दक्षिण एसियामा भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्नेछ ।