इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी राजस्थान रोयल्सको सामना गर्नेछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको जारी संस्करणमा राजस्थान रोयल्स सबैभन्दा बलियो टोलीको रुपमा देखिएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन सामान्य रहेको छ । राजस्थानले आफ्नो आठौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको सातमध्ये ६ खेलमा राजस्थान विजयी भएको छ ।
एक खेलमा भने राजस्थानले पराजय ब्यहोरेको छ । राजस्थान रोयल्स १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । यो सिजनको आईपीएलमा राजस्थान रोयल्सले हालसम्म एकमात्र हार गुजरात टाइटन्ससँग ब्यहोरेको हो । गुजरातले राजस्थानलाई तीन विकेटले हराएको थियो । मुम्बई इन्डियन्सले पनि जारी आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । मुम्बई यसअघि खेलिएको सातमध्ये तीन खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई इन्डियन्स ६ अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ ।
सोमबारको खेलमा राजस्थानलाई हराउन सके मुम्बई इन्डियन्स तालिकाको पाँचौँ स्थानमा उक्लने सम्भावना छ । राजस्थानलाई ठूलो अन्तरले हराउन सके मुम्बई तालिकाको चौथो स्थानमा उक्लने सम्भावना पनि उत्तिकै छ । यद्दपि, मुम्बई इन्डियन्सले जयपुरमा हालसम्म खेलेको खेलमध्ये ७२ प्रतिशत खेलमा पराजय भोग्नु परेको छ ।










