मर्स्याङ्दी नदीजलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । आयोजना अन्तर्गत नै मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ ।
त्रिशूली नदीजलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।
मस्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ । प्रसारण लाइनबाट करिब २ हजार मेगावाट विद्युत काठमाडौं उपत्यकामा छिर्न सक्छ ।
मर्स्याङ्दी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुने छ । मातातीर्थबाट विद्युत्लाई १३२ केभी प्रसारण लाइनमार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । आयोजनाको अनुमानित लागत साढे ६ अर्ब रुपैयाँ रहेको छ ।










