
फिल्म ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले चाँडै दर्शकले नयाँ सिक्वेल हेर्न पाउने बताए ।
दुई दिनअघि नै हलमा चलिरहेको फिल्ममा ‘टु बि कन्टिन्युड’ (निरन्तर रहनेछ) वाक्यांश राखिएको निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले बताइन् । ‘चाँडै नयाँ फिल्म ल्याउने स्रोत र साहस मिलेको छ,’ फिल्मबारे जानकारी दिन आयोजित प्रेसमिटमा उनले भनिन् ।
निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखन सकिएको बताए । ‘स्क्रिप्ट लेखन सकिइसकेको छ,’ भारतीले भने, ‘बीचमा एउटा फिल्म गरेर मात्र बोक्सीको घर बनाउँछु ।’ उनले अर्को फिल्मको स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने बताए ।
रिलिज हुँदा ‘कथा निरन्तर हुनेछ’ लेखिएको थिएन । तर निर्माताले केही दिनअघि मात्र थपेर हलमा पठाएका हुन् । यसको अर्थ, सिक्वेल बन्नेछ भनेर दर्शकलाई जानकारी दिइएको हो । प्रेसमिटमा निर्देशक भारतीले दोस्रो श्रृंखलाबारे अहिलेलाई केही नखुलाउने बताए ।