नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ ।
आज काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रहने जानकारी दिए ।
भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने नेकपा (एमाले) केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् । उनका अनुसार, भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुनेछ । समूह प्रस्तुतिपछि भेलाका निष्कर्षहरू सार्वजनिक गरिने छ । समापन कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्नेछन् ।
भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घकी अध्यक्ष टुकाभद्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।