उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन जेठ १५ गते सामाजिक सञ्जाल (फेसबुक, एक्स) मा ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने कुरा पोस्ट गरे।

महिनावारीका बेला ट्राफिक प्रहरीलाई सडक ड्युटीमा नखटाउने र विकल्पमा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई सडकमा ‘ड्युटी’ गर्न लगाइने गृहमन्त्री लामिछानेको भनाइ थियो।

गृहमन्त्रीले यस्तो पोस्ट गरेको भोलिपल्ट (बुधबार) देखि नै यो नियम कार्यान्वयनमा आएको छ।

ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई बुधबारदेखि काठमाडौंका विभिन्न चोकमा ‘ड्युटी’ गरिरहेको देखिन्छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने व्यक्तिहरूलाई स्वयंमसेवकको रूपमा खटाउन सुरू गरेको हो।

मादक पदार्थ सेवन (मापसे) लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वंयसेवकको रूपमा सडकमा खटाउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

चार वटा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंमसेवकका रूपमा सडकमा खटाइएको हो।

मापसे, लेन मिचेको, ट्राफिक बत्ती उल्लंघन र ओभरस्पिड गरी सवारीसाधन चलाएर कारबाहीमा परेकालाई स्वयंमसेवकका  रूपमा खटाइएको उनले जानकारी दिए।

यो ट्राफिक नियम उल्लंघन गर्दा एक घण्टाको ट्राफिक सचेतना कक्षा अनिवार्य लिनुपर्ने थियो। त्यसको सट्टामा अहिले सडकमा खटाउन सुरू गरिएको छ। कारबाहीमा परेकालाई एक घन्टा सडकमा परिचालन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर