बलिउड सुपरस्टार शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको नाममा ठगी भइरहेको पाइएको छ । यसबारे कम्पनीले औपचारिक घोषणा गरेर सबैलाई सचेत गराएको छ ।
गत बुधबार राति, शाहरुख खान र गौरी खानको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा एक सूचना शेयर गरेको थियो । यसमा अनलाइनमा कम्पनीका नाममा धमाधम शेयर भइरहेका रोजगारीका अवसरसम्बन्धी अफर प्रस्तावविरुद्ध चेतावनी दिइएको थियो ।
पोस्टको क्याप्सनमा लेखिएको छ, ‘रेड चिलीज इन्टरटेनमेन्टको तर्फबाट महत्त्वपूर्ण जानकारी ।’ प्रोडक्सन हाउसले सेयर गरेको नोटमा लेखिएको छ, ‘ विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरू, विशेष गरी व्हाट्सएपमा रेड चिलीज इन्टरटेनमेन्टसँग सम्बन्धित रहेको दाबी सहितको झुटा अफर प्रसारित भइरहेको हुनसक्ने कुरामा हाम्रो ध्यानाकर्षण भएको छ ।’कम्पनीले व्हाट्सएप वा अन्य कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममार्फत कर्मचारी भर्ना वा रोजगारीको अवसर वा अन्य कुनै अवसरको जानकारी नदिएको पनि पोस्टमा भनिएको छ । कम्पनीले उपलब्ध गराउने वास्तविक अवसरहरू आधिकारिक च्यानलहरू मार्फत मात्र प्रसारण गर्ने पनि बताइएको छ ।