मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् ।

आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएका हुन् । विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघको एउटा समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गर्दै नगरप्रहरीमाथि हातपात गरेको थियो  ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले  ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।  उनीहरु सबै नेविसंघका हुन् ।

विद्यार्थी पक्राउको विरोधमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीले शुक्रबार दिउँसो कोशी राजमार्ग केही समय अवरुद्ध गरेका थिए ।

आइतबार बिहान प्रदर्शन गरेका विद्यार्थीले महेन्द्र मोरङ कलेज अगाडि गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरे, ड्राइभर गाडीबाट निस्किएपछि आगजनी गरे । आजगनीबाट गाडी पूर्ण रुपमा जलेको  प्रहरीले जनाएको छ ।

विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेका थिए । कन्जनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको  बा१ञ १८८७,  को१ञ २४१९, प्रदेश १-००१ ञ २७०१,  प्रदेश १-००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका थिए । तोडफोडबाट  गाडी फुटेको शिशा फुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर