तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ ।

बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए ।

उनका अनुसार १ वैशाखबाटै केबलकार आंशिक रुपमा चलाइएको थियो । बिहीबारदेखि भने व्यावसायिक सञ्चालनमा ल्याइएको हो ।

कम्पनीले करिब एक वर्ष अगाडिदेखि नै केबलकार जडान सम्पन्न गरी लोड परीक्षण भएको जनाएको छ ।

तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केबलकार सञ्चालनका लागि खुल्ला गरिएको हो,’ उनले भने ।

केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने उनको भनाइ छ ।

बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर