ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् ।
एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए।
बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ , प्रजिअ आचार्यले भने । बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए।
पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजंघा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बढिरहेका प्रजिअ आचार्यले बताए। उनका अनुसार पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चारजनाको निधन भएको थियो भने पाँचथर फिदिमका एकजनाको सिरीजंघामा निधन भएको थियो










