युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा बुधबार आयोजक राष्ट्र जर्मनीले हंगेरीको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१:४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार साँझ १८:४५ बजे क्रोएसियाले अल्बानियासँग भिडन्त गर्नेछ । बिहीबार बिहान ००:४५ बजे स्कटल्यान्ड र स्विट्जरल्यान्डबिच खेल हुनेछ ।
जर्मनी र हंगेरी प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा स्विट्जरल्यान्ड र स्कटल्यान्ड पनि रहेका छन् । जर्मनी र हंगेरी दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । जर्मनीले प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको थियो ।
हंगेरी भने आफ्नो पहिलो खेलमा पराजित भएको थियो । स्विट्जरल्यान्डले हंगेरीलाई ३–१ गोलले हराएको थियो । तीन अंकसहित जर्मनी पहिलो र समान अङ्क बटुलेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा आसिन हंगेरी र चौथो स्थानमा रहेको स्कटल्यान्डले अङ्क जोड्न सकेका छैनन् ।










