अर्थमन्त्री डा.टंकराज गुरुङले संसद्‌बाटै माफी मागेपछि गण्डकीको प्रदेशसभा बैठक सुरु भएको छ । बजेट वक्तव्यमा बिग्रिएको हिसाब मानवीय त्रुटि भएको भन्दै अर्थमन्त्री गुरुङले माफी मागेपछि शुक्रबार प्रदेशसभा बैठक सुरु भएको हाे ।

एमाले उपनेता लीलाबहादुर थापाले बिहीबार बजेटको पूरा अङ्क र खर्च व्यहोर्ने स्रोतको शीर्षक नमिलेपछि संसद् चल्न नदिने चेतावनी दिएका थिए ।  उनको चेतावनीपछि प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध गरे ।

त्यसपछि संसद् बैठक रोकिएको थियो । प्रतिपक्षीले सरकारबाट प्रष्टीकरण नआएसम्म संसद् चल्न नदिने बताएका थिए । शुक्रबार अर्थमन्त्री गुरुङले सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदानको रकम संशोधन गरेपछि सदन अघि बढेको हो ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. १३९ मा त्रुटि पाइएको थियो । ‘मनसायरहित मानवीय त्रुटिका लागि गल्ती स्वीकार गर्दै सो बुँदालाई स्पष्टताका साथ आद्यवधि गरी सोको विवरण माननीय सदस्यले प्राप्त गर्ने गरी उपलब्ध गराएको व्यहोरासमेत अनुरोध गर्दछु’, शुक्रबारको प्रदेश सभा बैठकमा उनले भने ।

आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट पेश गरेका थिए । तर उक्त बजेटको स्रोतमा भने ३२ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको मात्र हिसाब उल्लेख गरेका थिए । बजेट वक्तव्यमा उल्लिखित कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ९ लाख रुपैयाँको स्रोत अभाव हुने देखिएको भन्दै बिहीबार नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर