
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी ६२ वर्षीय बेचन झालाई प्रहरीले बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले बताए ।
उनका अनुसार, गएको शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिँदैछ । ‘त्यसअघि म्याद थपका लागि उपस्थित गराउन लागेका हौं’, उनले भने ।
झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । पहिले अनुसन्धान हुँदा ठेगाना नखुलेको भन्दै अनुसन्धान नगरिएका झा पक्राउ परेपछि यो घटनामा दोस्रो चरणको अनुसन्धान सुरु भएको प्रहरी अधिकृतहरु बताउँछन् ।