काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।
नेपाली महिला उमेर समूहको टिमले पहिलो पटक प्रतियोगीता खेल्न लागेको हो । जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले बुधबार सामान्य प्रशिक्षण गरेको थियो ।
कप्तान जेनिशाले पहिलो खेल खेल्न उत्साहित रहेको बताइन् । ‘हामी प्रतियोगिताको लागि तयार छौं । श्रीलंकासँगको पहिलो खेलमा राम्रो नतिजासहित प्रतियोगिता सुरु गर्न चाहन्छौं’, उनले भनिन् ।
यस्तै मुख्य प्रशिक्षक कुमार राई पहिलो खेल महत्वपूर्ण हुने भएकोले त्यसमा केन्द्रित हुने बताए । ‘पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न हामी खेलाडीसहित सबै जना उत्साहित छौं। पहिलो खेल जितसहित प्रतियोगितामा सुरु गर्न चाहन्छौं’, उनले भने ।










