शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आएका छन । उनले चारवर्षदेखि बाख्रा, बङ्गुर फार्मसँगै माछापालन गर्दै आएका छन ।

घर नजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बङ्गुर र माछाको हेरचाह गर्दै आएका छन ।  बिहानबेलुका फार्ममा रहेका पशुको हेरचाह गर्ने, दानापानीको व्यवस्था मिलाउने तथा ती पशु बेच्नेलगायत काममा व्यस्त हुने गरेको चौधरीले बताए ।

उनका अनुसार अहिले फार्ममा ३० वटा उन्नत जातका बाख्रा, २० वटा बङ्गुर, दुई वटा पोखरीमा विभिन्न जातका माछा छन् । पोखरीको डिलमा लहरै बङ्गुरका खोर निर्माण गरिएका छन् । चौधरी विद्यालयमा रहेका बेला उहाँकी श्रीमतीले फार्ममा पालेका बङ्गुर, बाख्रा र माछालाई चारो खुवाउने गर्छिन । चौधरीले बैंकबाट रु पाँच लाख ऋण निकालेर चार वर्ष अघिदेखि फार्म सञ्चालन गर्दै आएको बताए ।

सबै खर्च कटाएर वार्षिक रु सातसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए । बङ्गुरको माउभन्द पाठा बढी बिक्री हुने गरेको उनले सुनाए । वर्षमा १० वटा जती खसी बिक्री हुन्छन् , चौधरीले भने माछा सात क्विन्टल, बङ्गुरका पाठा ६० वटा जति बिक्री हुने गरेका छन् ।

फार्ममा छिट्टै हुर्कने डयुरो जातका बङ्गुर पालेको उनले बताए ।  बङ्गुरका पाठापाठीको माग निकै बढी छ , उनले भने  माग अनुसार पु¥याउनै सकिरहेका छैनौँ, टाढाटाढाका व्यापारी घरमै पुगेर नगदमा किनेर लैजाने गर्दछन । बङ्गुरका एक वर्षका पाठापाठी रु चार हजार पाँच सयसम्ममा बिक्री हुने चौधरीले जानकारी दिए ।

पोखरीमा उत्पादन भएका माछा केही गाउँमै खपत हुने गरेका छन् । कहिलेकाही कलुवापुर, झलारीलगायत बजारमा पु¥याउनु पर्दछ , उ नले भने , खसीबोकाको माग दसैँंतिहारलगायत चाडपर्वमा बढी हुने गर्दछ । व्यापारीले घरबाटै खरिद गरी लैजान्छन् ।  कोरोना महामारीका बेला फार्ममा पालिएका बङ्गुर, खसीबोका बिक्री नभएपछि निकै सस्तोमा बिक्री गर्नुपरेको गुनासो सुनाउँदै चौधरीले अहिले विस्तारै व्यवसाय तङ्ग्रिदै जान थालेकाले आम्दानी बढ्न थालेको बताए ।

फार्मको कमाइबाट खेत जोत्ने पावरटिलर, सिँचाइका लागि स्यालो ट्युवेल जडान गरेको जनाउँदै उनले तीन कोठे पक्की घर पनि बनाएको बताए ।  विद्यालयबाट पाउने तलब बापतको पैसा घर खर्चमा लागि पुग्दैन , चौधरीले भने,  फार्म सञ्चालन गरेसँगै जीविकोपार्जन गर्न सहज भएको छ । आगामी दिनमा फार्मलाई थप व्यवस्थित बनाई केही कामदारसमेत राख्ने योजना बनाएको उनले सुनाए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर